Comments Add Comment

रवि लामिछाने माथि अर्को रिटको तयारी

काठमाडौं, माघ १६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नागरिकता विवाद सर्वोच्च अदालतले निरूपण गरे पनि राहदानी विवाद अझै समाधान भएको छैन। सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ आएपछि त्यसका आधारमा राहदानीलगायत बाँकी विषयमा अर्को रिट दिने तयारी भइरहेको छ।

‘यो फैसलापछि उहाँका अन्य अपराधहरू पनि सतहमा आइसकेका छन्। त्यसका लागि पनि न्यायिक लडाइँ हुन्छ नै,’ अधिवक्ता पौडेल भन्छन्, ‘उहाँका अपराधले जेलसम्म पुर्‍याउने छ। अहिल्यै चुनाव लड्ने कुरा परको विषय हो।’ लामिछानेका अपराध स्वयं उनकै समर्थकले नै सार्वजनिक गरिरहेकाले धेरै भनिरहनु नपर्ने उनी बताउँछन्। अधिवक्ता पौडेलका अनुसार राहदानी, दोहोरो नागरिकताको विषयमा अर्को रिट पर्न सक्ने देखिन्छ। लामिछानेले अवैध नागरिकता प्रयोग गरेर कम्पनी खोलेको, श्रम स्वीकृति नलिई काम गरेको, नेपाली स्थायी लेखा नम्बर लिएको, चितवन जिल्ला अदालतलाई झुट बोलेर गुमराहमा राखेको, दल खोलेको, चुनाव लडेको, गृहजस्तो संवेदनशील मन्त्रालयको जिम्मेवारी लिएर सरकारी सूचना लिएको लगायत विषयमा पनि रिट हालिने उनले बताए।

राहदानीको कसुरको आरोप पुष्टि भए मात्रै लामिछाने एक देखि तीन वर्षसम्म जेल पर्न सक्छन्। राहदानी ऐन २०७६ मा ‘झुटा विवरण दिई राहदानी वा यात्रा अनुमतिपत्र लिए वा लिन प्रयत्न गरे’ जरिवाना र सजाय हुने व्यवस्था छ। त्यस्तो गर्ने व्यक्तिलाई दुईदेखि ५ लाख रूपैयाँसम्म जरिवाना वा एक वर्षदेखि तीन वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने भनिएको छ। लामिछानेले पहिलोपटक २०५० सालमा नेपाली नागरिकता लिएका थिए। सोही नागरिकताका आधारमा पहिलोपटक सन् २००१ मा नेपाली राहदानी निकालेका थिए। त्यसपछि उनी अमेरिका गएका थिए।

अमेरिकामा लामिछानेले सन् २०१४ मा अमेरिकी नागरिकता (ग्रिनकार्ड) लिए। नेपाल नागरिकता ऐन २०६३ को दफा १० मा बमोजिम उनले अमेरिकी नागरिकता लिनासाथ नेपाली नागरिक रहेनन्। जुन सर्वोच्चको फैसलाले समेत ठहर गरिसकेको छ। अमेरिकी नागरिकता लिएसँगै उनले २०१४ मार्च ५ (२०७० फागुन २१) मा अमेरिकी राहदानी लिएका थिए। त्यसपछि पहिलोपटक अमेरिकाबाट नेपाल आउँदा लामिछानेले अमेरिकी राहदानी प्रयोग गरेर गैरपर्यटक (नाता) भिसा लिई सन् २०१४ जुन ५ (२०७१ जेठ २२) मा आएको अध्यागमन विभाग स्रोतले जनाएको छ। त्यतिबेला उनी दुई महिनामै अमेरिका फर्किएका थिए।

त्यसपछि दोस्रोपटक पनि अमेरिकी राहदानीमा गैरपर्यटक भिसामै २०१५ मे ११ (२०७२ वैशाख २८) मा नेपाल आएर नेपाली राहदानी बनाउन भ्याए। नेपाल आएको तीन साता नबित्दै २०१४ मे १३ (२०७२ जेठ १३) नेपाली राहदानी बनाएका थिए। जसमा अमेरिकी नागरिकता लिँदा खारेज भइसकेको नेपाली नागरिकता प्रयोग गरेका थिए। यसरी लामिछानेसँग एकैसाथ दुईदेशका नागरिकता (नेपाली नागरिकता कानुनअनुसार खारेज भएपछि प्रयोग गरे) र राहदानी भए। तर नेपाली राहदानी लिएर तत्काल प्रयोग भएको देखिँदैन।

२०१५ अक्टोबर १८ (२०७२ कात्तिक १) मा अमेरिका अमेरिका फर्किंदा अमेरिकी नागरिकता नै प्रयोग गरेको अध्यागमन विभागको रेकर्डमा देखिन्छ। उताबाट २०१५ नोभेम्बर २६ (२०७२ मंसिर १०) मा नेपाल फर्किंदा पनि उनले नेपाली राहदानी प्रयोग गरेर सिधै आउने विकल्प प्रयोग गरेनन्। अमेरिकी राहदानीमा नेपाली भिसा लगाएर आए। त्यसपछि पनि नेपाल-अमेरिका ओहोरदोहोर गर्दा अरू तीन पटक पनि अमेरिकी राहदानी नै प्रयोग गरेको अध्यागमन विभाग स्रोतले जनाएको छ।

यसरी दुई देशका नागरिकता र राहदानीको प्रयोग गरेर लामिछानेले तमाम लाभ उठाउँदै आएका थिए। न्युज–२४ मा कार्यक्रम चलाउन सुरु गर्दा विवाद भएपछि मात्रै उनी अमेरिकी नागरिकता त्यागको प्रक्रियामा गएका थिए। विवाद बढ्दै गएपछि लामिछानेले २०७५ जेठ ४ मा अमेरिकी नागरिकता त्यागको सुरुवात गरेका थिए। सो दिन उनले नेपालस्थित अमेरिकी दूतावासमा अमेरिकी नागरिकता र राहदानी त्याग गर्न निवेदन दिएका थिए। त्यो निवेदन अमेरिकाको स्टेट डिपार्टमेन्टले स्वीकार गरेको प्रमाण उनीसँग छ। जुन उनले अध्यागमन विभागलाई समेत बुझाएका थिए। नागरिक दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै