Comments Add Comment

नागरिकता विधेयक प्रमाणीकरण नहुने, प्रतिनिधिसभाको कार्यकाल सकिएकाले निष्क्रिय भएको तर्क

नागरिकता विधेयक प्रमाणीकरणका लागि दोस्रोपटक राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेको मंगलबार १५ दिन भएको छ ।

यसअघि पहिलोपटक प्रमाणीकरणका लागि पुगेको उक्त विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी संसदमै फिर्ता पठाएकी थिइन् । तर, संसदले पुनः उक्त विधेयक जस्ताको तस्तै पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाएको थियो ।

दोस्रोपटक आफूकहाँ आएको विधेयक १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ । उक्त समय आज राति १२ बजे सकिँदैछ ।

उच्च स्रोतका अनुसार राष्ट्रपतिको कार्यालयले भने विधेयक प्रमाणीकरण नगर्ने भएको छ । प्रतिनिधिसभाको कार्यकाल सकिइसकेको अवस्थामा विधेयक स्वतः निष्क्रिय हुने तर्क गर्दै शीतल निवासले विधेयक प्रमाणीकरण नगर्न लागेको हो ।

प्रतिनिधिसभाको कार्यकाल १ असोजमा सकिएकाले उक्त विधेयक स्वतः निष्क्रिय भएको शीतल निवास स्रोतले बतायो । सोही आधारमा राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण नगर्न लागेकी हुन् ।

पहिलोपटक राष्ट्रपति भण्डारीले उक्त विधेयकलाई सन्देशसहित संसदमा फिर्ता गरेकी थिइन् । तर, आफ्नो सन्देशलाई बेवास्ता गरी जस्ताको तस्तै विधेयक पुनः प्रमाणीकरणका लागि शीतल निवास पुगेपछि राष्ट्रपति र सरकारबीच चिसो बढेको थियो ।

त्यसपछि राष्ट्रपतिले राजनीतिक दलका नेताहरू, संविधानविद्लगायतसँग यसबारेमा छलफल परामर्श गरेकी थिइन् ।

यसैबीच, आगामी मंसिर ४ मा हुने चुनावको कारण यही १ असोजमा प्रतिनिधिसभाको कार्यकाल सकियो । प्रतिनिधिसभाको कार्यकाल सकिएपछि त्यसैलाई आधार मानेर विधेयक निष्क्रिय भएको निष्कर्षमा शीतल निवास पुगेको स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै