Comments Add Comment

ओली–शेखर बीच दुई घन्टा छलफल ,के भयो कुराकानी ?

कांग्रेसमा संस्थापनइतर समूहको नेतृत्व गरिरहेका नेता डा. शेखर कोइरालाले एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका छन् । बिहीबार बालकोटस्थित निवासमा पुगेर कोइरालाले ओलीसँग दुई घन्टा छलफल गरे । कोइरालासँगको भेटवार्तापछि ओली गृहजिल्ला झापा प्रस्थान गरेका थिए ।

दुई नेताबीचको छलफलका विषयवस्तु सार्वजनिक गरिएका छैनन् । ओलीका प्रेस संयोजक रामशरण बजगाईंले दुई नेताबीच भएको छलफलका विषयवस्तुबारे आफू जानकार नभएको प्रतिक्रिया दिए । कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले भने ओलीसँगको भेटवार्ता नै अस्वीकार गरे । ‘चुनाव लागेकाले हामी अहिले पार्टीको आन्तरिक व्यवस्थापनमै व्यस्त छौँ, यस्तो वेला उहाँसँग भेटवार्ता हुने कुरै रहेन,’ थपलियाले नयाँ पत्रिकासँग भने ।

ad
सत्तारूढ गठबन्धनमा सिट बाँडफाँडमा रस्साकस्सी चलिरहेका वेला शेखरको यो भेटलाई ‘अर्थपूर्ण’ मानिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा लचकता अपनाएर भए पनि सत्तागठबन्धनका दलसँग मिलेर आसन्न निर्वाचनमा जान चाहिरहेका छन् । तर, कोइराला समूहले भने कांग्रेसले कम्तीमा सय सिट लिनुपर्ने ‘बटमलाइन’ बनाएर देउवालाई दबाब दिँदै आएको छ ।

गठबन्धनबीच सिट संख्या बाँडफाँडपछि कांग्रेस सभापति देउवाले आफ्नो समूहका प्रभावशाली नेताहरूको प्रभाव रहेका निर्वाचन क्षेत्र माओवादी वा गबठन्धनका अन्य दललाई दिन सक्ने कोइरालाले आशंका गर्दै आएका छन् । यदि सिट संख्या सयभन्दा कम लिएर क्षेत्र बाँडफाँडमा त्यस्तो तरिका अपनाए प्रदेश र जिल्ला तहका नेता–कार्यकर्ताको दबाब थेग्न नसक्ने भन्दै कोइराला समूहले पार्टीभित्र दबाब सिर्जना गर्दै आएको छ ।

ओलीसँगको भेटमा कोइरालाले गठबन्धन संस्कृति राम्रोसँग विकास नभइसकेकाले चुनावअघि दलहरूबीच एकल प्रतिस्पर्धा भए राम्रो हुने धारणा राखेको स्रोतले जनाएको छ । ओलीले पनि लामो समय लोकतन्त्रको रक्षाका लागि संघर्ष गर्दै आएको पार्टीले त्यसरी गठबन्धन बनाएर जाँदा मतदातामा कांग्रेस कमजोर बन्दै गएको मनोवैज्ञानिक प्रभाव पार्ने र त्यसको प्रत्यक्ष लाभ एमालेले नै लिन सक्ने बताएका थिए ।
नयाँ पत्रीकामा खबर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै