Comments Add Comment

डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’को विशेष संस्करणको मुल्य पच्चीस हजार रुपैयाँ

काठमाडौँँ – मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’को विशेष संस्करण २५ भदौमा सार्वजनिक हुने भएको छ।

भदौको अन्तिम साता ‘हृदय’ पुस्तक लोकार्पण हुन लागेको डा. कोइरालाले बताए। विशेष सीमित संस्करण एक पटकका लागि २५ सय प्रति मात्र मुद्रण भएको छ, जसको अङ्कित मूल्य पच्चीस हजार रुपैयाँ रहेको छ।

विशेष संस्करणलाई डा. कोइराला आफैले प्रत्येक पुस्तकमा क्रमसङ्ख्या अङ्कित हस्ताक्षर गरी प्रमाणित गर्नेछन्। विशेष संस्करण निस्किएको एक सातापछि अर्थात् असोजको पहिलो सातादेखि पुस्तकको नियमित संस्करण पनि अङ्कित मूल्य पाँच सय ७५ रुपैयाँमा पाठकका निम्ति उपलब्ध गराइने छ।

विशेष संस्करणको बिक्रीबाट प्राप्त हुने रुपैयाँ प्रकाशकले आफ्नो लागत र लेखकले लेखकस्व केही नकटाइ डा. कोइरालाले निमार्ण गर्न लागेको विशिष्टीकृत बाल अस्पतालमा हस्तान्तरण गर्नेछन्।

त्यस्तै, नियमित संस्करणको पनि ५० प्रतिशत अस्पताललाई नै दिने निर्णय गरेको डा. कोइरालाले जानकारी दिए। डा. कोइराराले सातै प्रदेशमा तीन चरण गरेर विशिष्टीकृत बाल अस्पतालमा निमार्ण गर्न लागेका छन्। पहिलो चरणमा प्रदेश १ को दमकमा अस्पताल निर्माण अन्तिम चरणमा पुगेको उनको भनाइ छ।

उनका अनुसार प्रदेश १ को दमकमा ५० बेडको बाल अस्पताल निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ। हाल काठमाडौँमा त्यस्तो विशिष्टीकृत हस्पिटल ‘काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ (किओच)का रूपमा निर्माणाधीन भइरहेको उनी बताउँछन्।

उनी भन्छन्,‘नेपालमा जन्मिने प्रत्येक सय जना बालबालिकामध्ये तीन जनाले ज्यान गुमाउनु पर्छ। नेपालमा धेरै त्यस्ता बालबालिका देखेँ, जसले आधारभूत स्वास्थ्य सेवा नपाएका कारण ज्यान गुमाउनु पर्‍यो। भविष्यका कर्णधारहरुले ज्यान गुमाउन नपरोस् भनेर सातै प्रदेशमा तीन चरण गरेर बाल अस्पताल बनाउन लागेको हो।’

डा. कोइरालाको यही लक्ष्यलाई सानै स्तरमा भए पनि सघाउने उद्देश्यले प्रकाशक फाइनप्रिन्टले उनको पुस्तक ‘हृदय’को विशेष संस्करण ल्याउने लागेको हो।

डा. कोइरालाले जीवनमा भोगेका संघर्षका अनुभव, उनले देखेका स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयलाई समेत विश्लेषणात्मक धारणासहितको पुस्तक प्रकाशन हुन लागेको हो।

‘राजधानीमा आफूले चाहेजस्तै अस्पताल बनाउनुले मेरो रहर त पूरा गर्थ्यो होला। तर, साँच्चै केही गर्ने हो भने प्रभाव पर्ने गरी गर्नपथ्यो,’ उनले भने।

प्रभावकारिताको मापन राजधानी वा ठूला सहरबाहेक अन्यत्र रहेका बालबालिकाको सहज र सबल उपचार पहुँचले निर्धारण गर्थ्यो। त्यसैले काठमाडौँको विशिष्टीकृत एक अस्पतालबाहेक अन्य ६ ओटा प्रदेशमा सामान्य बाल अस्पतालको अवधारणा अघि सारका छौँ। यसमा सबैको साथ र सहयोगको आवश्यक पर्छ।

चन्दा उठाएर बाल अस्पतालको सञ्जाल स्थापना गर्ने कामलाई धेरैले बहुलट्ठीपनको संज्ञा पनि दिएको उनले सुनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै