Comments Add Comment

दार्शनिक व्यक्तिसँगको प्रेम र जीवन कस्तो हुँदो रहेछ,कसरी सुरु भयो?[अन्तर्वार्ता ]

“प्रेम भनेको स्वतन्त्रताको जगत्‌मा प्रवेश गर्ने एउटा प्रयास हो। मेरा लागि प्रेमको परिभाषा विशुद्ध रूपमा स्वतन्त्रता हो।”

प्रेमबारे बोल्दै प्रदीप गिरिले झापाको एउटा साहित्यिक कार्यक्रममा केही वर्षअघि त्यसो भनेका थिए।

उनैले प्रेम गरेकी भारती सिलवाल गिरि अहिले उनको निधनसँगै पति वियोगमा छिन्।

काठमाण्डूको कोटेश्वरस्थित एउटा किरिया पुत्री घरमा बसेकी उनी गिरिसँग प्रेम गर्दादेखि पछिल्ला दिनमा अस्पताल शय्यामा बस्दासम्मका अन्तिम दिनहरू सम्झिएर भाव विह्वल हुन्छिन्।

कहिलेसँगै एउटै छत मुनि बसेर त कहिले अलग्गै घरमा बसेर भए पनि लामो संसर्गमा रहेकी भारतीले दिने अभिव्यक्तिमा प्रदीपले परिभाषा गरेजस्तै स्वतन्त्रता गुञ्जिन्छ।

सायद, प्रदीपले परिभाषा गरेको प्रेममा उनीहरू दुई बीचको त्यही स्वतन्त्रताको अनुभूति हाबी थियो। चाहे प्रेममा होस् वा पेसा दुवैमा उनीहरू स्वतन्त्र थिए।

प्रेम कसरी सुरु भयो?

भारतीका अनुसार २०३६ सालको जनमत सङ्ग्रहपछि उनीहरू दुईको पहिलो भेट काठमाण्डूको पुतलीसडकमा भएको थियो।

पहिलो भेटमा उनीहरूबीच कुराकानी भयो। त्यतिखेर भारती लेख्ने गर्थिन्। आत्मनिर्भर महिला थिइन्। प्रदीप त्यतिबेलै चिन्तक र राजनीतिज्ञका रूपमा दरिइसकेका थिए।

“सायद त्यसले पनि एकअर्काप्रति सुरुमै आकर्षण बढेको हो,” उनले ती दिन सम्झिइन्।

बिस्तारै उनीहरूबीच कुराकानी झ्याङ्गिन थाल्यो। एकअर्काको रुचि ख्याल गर्न थाले। स्वभाव चिन्दै गएपछि आकर्षण झन् बढ्यो र त्यसले दुईलाई आत्मीय बनायो।

जनमतसंग्रहअघि भारतका विभिन्न ठाउँमा लामो कालखण्ड बिताएका प्रदीप गिरि सुधारिएको पञ्चायती व्यवस्थाको समयमा पनि बनारस आउजाउ गरिरहन्थे।

त्यतिबेला प्रदीप र भारतीको प्रेमालाप चिठ्ठीमार्फत् हुन्थ्यो।

प्रेमपत्रमा कस्ता कुरा लेखिएका हुन्थे?

एकैछिनअघि भावविह्वल बनेकी भारती यो प्रश्न सुन्ने बित्तिक्कै केही क्षणका लागि मुस्कुराइन्। सायद उनको मानसपटलमा प्रेमपत्र लेख्दाका कुतकुती लगाउने दिन ताजा बनेर आए।

“अत्यन्तै व्यक्तिगत कुराहरू…,” तर जसै उनी जवाफ दिन थालिन् उनी फेरि भक्कानिइन्।

“उहाँको लेखन असाध्यै मिठो थियो। मसँग हाम्रा प्रेमपत्रहरू सुरक्षित छन्। प्रेमपत्रमा अरू के हुन्छ: रमाइला रमाइला कुराहरू हुन्थे। परिवारका कुरा। प्रेमका कुरा। प्रेमालापका कुरा।” यति भनिसक्दा उनको सुक्सुकाहट फेरि सुरु भयो।

प्रेमका कुरा हुँदा उनले प्रदीपलाई भेट्दाका सुरुका दिन र अस्पताल शय्यामा हुँदाका अन्तिम दिनहरू सम्झिइन्।

मुम्बई र दिल्लीमा लामो समय क्यान्सरको उपचार गरेर फर्किए लगत्तै प्रदीप मेडिसिटी अस्पतालमा काठमाण्डूमा उपचाररत थिए। काठमाण्डूमा अस्पतालमा भारती साथै रहिन्।

अस्पतालको शय्यामा बसेर क्यान्सरको उपचार गरिरहँदा पनि प्रदीप ख्यालठट्टा गरिरहन्थे। स्मृतिका ती ताजा दिन सम्झिँदा उनलाई सबैभन्दा बढी पीडा भएको सुनियो।

चार दशकअघि अङ्कुराएको प्रेम र हालसालै वियोग हुनुअघिको प्रेममा यही फरक हुँदो हो।

क्यान्सरको जटिलता बुझेका दुवैलाई मृत्यु नजिक खिचिँदै आएको थाहा थियो। दुवैजना एकअर्काका आँखामा पीडा लुकाउन खोज्थे।

भारतीकै शब्दमा – उनीहरूले जीवनभर बिना सर्त स्वतन्त्र भएर जीवन बिताए। सम्झौता गरेर बाहिर देखिनकै लागि मिलेको अभिनय गरेनन्।

तर पतिको वियोगसँगै अब चाहेको बेला मिल्ने स्वतन्त्रता गुमाएकामा सायद भारती बढी विह्वल भएकी हुन्। सायद प्रदीपमा पनि अन्तिम दिनहरूमा त्यसको पीडा थियो।

“मलाई अब छिटै ठिक हुन्छ भनेर मलाई आश्वासन दिनुहुन्थ्यो। पतिले पत्नीप्रति देखाउने प्रेम उहाँले देखाउनु हुन्थ्यो। उहाँलाई कठिन हुन्छ भनेर मैले पनि आँसु लुकाउँथेँ। तर त्यसरी आँसु लुकाउन निकै कठिन हुँदोरहेछ,” उनले भनिन्, “अब ती दिनहरू फर्किएर आउँदैनन्। त्यसले मलाई अलि भावुक बनायो।”

अस्पतालमा प्रदीपलाई कुरेर बस्दाका दिनका कतिपय कुरा नितान्त व्यक्तिगत भएको भन्दै उनले सार्वजनिक गर्न चाहिनन्।

भारतीको अनुभवमा प्रेम एकै दिनमा हुने अनुभूति होइन। समयक्रममा हुने हो।

करिब चार दशकको समयक्रममा उनीहरूबीच प्रेममात्रै भएन। सम्बन्धमा उनकै शब्दमा ‘नोँकझोँक’ पनि हुन्थ्यो।

वाद/प्रतिवाद कस्ता विषयमा हुन्थ्यो?

भारती र प्रदीपबीच राजनीति, दर्शनदेखि घरायसी कुराहरू हुन्थे।

गिरिको ज्ञान र बौद्धिकताबाट धेरै मानिसजस्तै भारती पनि असाध्यै प्रभावित थिइन्। तर दार्शनिक व्यक्तिसँग जीवन बिताउँदा घरायसी मामिलामा कठिन हुनेरहेछ भन्ने उनको अनुभव रहेछ।

शाकाहारी प्रदीप खानाका असाध्यै पारखी थिए। जुन जुन परिकारको रुचि राख्थे, त्यो परिकार पाकेपछि खाना खान बस्नुअघि भने त्यो भएन भन्थे।

“त्यस्तै कुरामा हाम्रो विमति हुन्थ्यो। उहाँ पनि जिद्दी स्वभावको हुनुहुन्थ्यो म पनि जिद्दी स्वभावकी थिएँ। दुवै यस्तो भएपछि के हुन्छ तपाईँ आफैँ अनुमान गर्नुस्,” उनले भनिन्।

प्रदीप समयको पावन्दीमा बस्दैनथे तर भारती अनुशासनमा बस्न रुचाउँथिन्।

लैङ्गिक समानताकै विषयमा वकालत गर्ने भारती व्यवहारमा पनि त्यस्तै खोज्थिन्।

“म पनि आफ्नै सिद्धान्तमा बस्ने मानिस हो। यसले गर्दा नोँकझोँक हुने त स्वाभाविक नै हो। तर हामीबीच अलि धेरै नै नोँकझोँक हुन्थ्यो,” उनले भनिन्।

त्यसपछि ती दम्पत्ती छुट्टिएर बस्ने गर्थे। “मैले घरबाट निस्क भन्दा निस्किनु पनि हुन्थ्यो र आउ भन्दा आउनु पनि हुन्थ्यो,” उनले भनिन्।

त्यसपछि ती दम्पत्ती छुट्टिएर बस्ने गर्थे। “मैले घरबाट निस्क भन्दा निस्किनु पनि हुन्थ्यो र आउ भन्दा आउनु पनि हुन्थ्यो,” उनले भनिन्।

‘प्रेम र यौन: पहेली अनेक’ शीर्षकको एउटा साहित्यिक कार्यक्रममा प्रदीपले भनेका थिए- “पुरुषले असमान व्यवहार गरेको हुँदा प्रेमको आनन्द नै पाउँदैन। प्रेम के हो बुझ्दै बुझ्दैन।”

अहिले भारतीका कुरा सुन्दा लाग्छ- प्रेमबारे प्रदीपले गरेका परिभाषामा उनहरूको समानता र स्वतन्त्रताको त्यो पक्ष झल्किएको थियो।

भारती धापासीस्थित घरमा छोराबुहारीसँग बस्छिन्। छुट्टिएका बेला प्रदीप भिमसेनगोलास्थित घरमा बस्थे। अहिले उपचारका क्रममा घर बेचेको भारतीले बताइन्।

प्रेमको परिभाषामा मात्रै होइन प्रदीपले विभिन्न कालखण्डका महिलाका चर्चा गर्दा वा पौराणिक पात्रबारे कुरा गर्दा भारतीसँगको भोगाइ पनि कतै न कतै झल्कन्थ्यो।

भारती पनि ठान्छिन् कि महिलाबारे प्रदीपले राख्ने दृष्टिकोणमा भारतीको व्यक्तित्वको ठूलो प्रभाव छ।

महिलावादबारे कुरा गर्ने धेरै पुरुषले व्यवहारमा त्यो गर्ने गरेको भारती देख्दिनन्।

फरक पृष्ठभूमि, फरक परिवेश र फरक संस्कारबाट आएका महिला र पुरुष सँगै बस्दा मतभेद हुनु स्वभाविक हुने उनी ठान्छिन्।

विमति हुँदा माफी कसले माग्थ्यो?

घरायसी कुरामा उनीहरूबीच विमति भइरहन्थ्यो। भारतीको अनुभवमा गल्ती गरेको महसुस गरे पनि प्रदीपले कहिल्यै माफी माग्थेनन्।

“मैले गल्ती गरेको महसुस गरेँ भने म ‘सरी’ भन्थेँ। तर उहाँले गल्ती गरेको भए म सरी भन्दैन थिएँ। उहाँचाहिँ आफूले गल्ती गरेको लागे व्यवहारबाट देखाउनुहुन्थ्यो तर शब्दमा कहिल्यै सरी भन्नुहुन्नथ्यो,” उनले सम्झिइन्।

उनलाई पितृसत्तात्मक समाजका कारण त्यस्तो भएको भन्ने लाग्छ। “हाम्रो समाजले पुरुषहरूलाई माफी माग्न सिकाएकै छैन,” उनले संक्षिप्त टिप्पणी गरिन्।

सम्बन्धमा घामछायाँ

“मानिसहरू के अचम्म मान्थे भने कस्तो जोडी हो यो? छुट्याछन् फेरि भेट्दा पनि त्यतिकै प्रेम छ,” उनले भनिन्।

सिद्धान्तत: उनी जति नारीवादी छिन् व्यवहारमा पनि त्यही लागू गर्न रुचाउँछिन्।

धेरै महिलाहरू कार्यालय समयमा आफूलाई सशक्त अनुभव गर्ने र घर फर्किएपछि त्यसअनुसार नहुने गरेको आफूले पाएको उनी बताउँछिन्।

तर त्यस्तो बाध्यतामा आफू रहनु नपरेको र त्यो स्वतन्त्रता पतिबाट पाएको उनको अनुभव छ।

“सफल वैवाहिक जीवन कसरी सफल भएको छ भने महिलाले सम्झौता गरेका कारण सफल भएको छ। पचास वर्षको दाम्पत्य जीवनमा श्रीमतीले कति पीडा सहेको हुन्छ। मचाहिँ त्यो पीडा सहने खालकी श्रीमती परिनँ,” उनले भनिन्।

“उहाँ जसरी आफ्ना नियममा बाँच्नुहुन्थ्यो म पनि आफ्नै नियममा बाँच्ने हो। म त्यो ढोँग गर्दिनँ।”

पैसा कमाउनका लागि कुनै पेसा नरोजेका श्रीमान् हुँदा उनलाई गर्व लाग्थ्यो। लैङ्गिक भूमिकाको सीमालाई आफूहरूले पार गरेको उनी बताउँछिन्।

पूर्वपत्रकार र संयुक्त राष्ट्रसंघलगायत विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थामा काम गरेकी भारती आर्थिक रूपमा आफैँ सबल थिइन्/छिन्।

उनी घरबाहिर जति महिलावादबारे बोल्छिन् घरभित्र त्यसैलाई अवलम्बन गर्थिन् र सम्झौता गर्न खोज्दिनथिन्। र, त्यसो गर्ने सुविधा प्रदीपले दिएकोमा उनी गर्व गर्छिन्।

“मैलै घर बाहिर एउटा छवि र घरभित्र अर्को छवि देखाउने सम्झौता कहिल्यै गरिनँ। धन्यवाद भगवान्। मैले त्यस्तो गर्नुपरेन। म धेरै गौरव महसुस गर्छु कि मैले प्रदीप गिरिसँग प्रेम अनि विवाह गर्ने अवसर पाएँ,” उनले भनिन्।

र, उनी यो पनि गर्व गर्छिन् कि समाजमा अन्य पुरुषले जस्तो व्यवहारिक कुरामा प्रदीपले आर्थिक बोझ उठाउनुपरेन। भारतीको बुझाइमा सायद त्यसैले प्रदीप आफ्नो इमानको राजनीतिमा रहन पाए।

“कमाएर परिवार पाल्नुपरेको भए सायद उहाँलाई पनि भ्रष्ट बनाउँथ्यो होला। उहाँ मेरा लागि आर्थिक बोझ हो भन्ने पनि मलाई कहिल्यै लागेन। सांसारिक बोझबाट उहाँलाई मुक्ति मिलेको थियो,” उनले भनिन्।

सत्ताले सिद्धान्तहरूलाई भ्रष्ट बनाउँछ भन्ने बुझाइ रहेका कारण भारतीका अनुसार प्रदीप अवसर दिइँदा पनि सत्ताबाट टाढा रहे।

“उहाँले अरूलाई बनाउनुभयो। अरूलाई अगाडि बढ्न हिम्मत आउने गरी उहाँ वैचारिक वातावरण पनि बनाइदिनुहुन्थ्यो। त्यसैले उहाँ राजनीतिक व्यक्ति हो र त्यसपछि मात्रै पारिवारिक व्यक्ति हो,” भारतीले भनिन्।

प्रदीप कस्ता व्यक्ति थिए?

प्रदीपको राजनीतिक, आध्यात्मिक र पारिवारिकमध्ये भारतीको नजरमा उनको राजनीतिक जीवन बढी प्रखर थियो।

प्रजातान्त्रिक समाजवादी मात्रै नभई दर्शन, सिद्धान्त र आदर्श पनि भएका प्रदीपले भारतीसँग निकट रूपमा विभिन्न विषयमा संवाद गर्थे।

“मलाई उहाँ राजनीतिक रणनीतिकार हो भन्ने लाग्छ। उहाँले दूरगामी दृष्टिकोण राख्नुहुन्थ्यो। र, त्यसैले सत्ताको खेलमा हाम फाल्नु भएन,” उनले भनिन्।

नेपाली कांग्रेसभित्र बौद्धिक नेताको छवि बनाएका सांसद प्रदीप गिरीबारे विभिन्न सञ्चारमाध्यमले उनको मृत्युपश्चात् जीवनका विविध पक्ष केलाएर लेखेका छन्।

सबैभन्दा निकट रहेर उनको जीवनका विभिन्न पाटा केलाउन पाएकी भारतीले व्यक्तिका रूपमा उनलाई कसरी चिनेकी छन्?

हाम्रो यो पहिलो प्रश्नमा जवाफ फर्काउनुअघि भारतीले लामो सास फेरिन्। मौनता हाबी भएको त्यो क्षण छततिर हेरेर एक छिन आँखा चिम्लिन् अनि बल्ल शब्दमा व्यक्त भइन्।

“एउटा विशाल हृदय भएको, मानवता भएको, सबैलाई समान व्यवहार गर्ने व्यक्ति। सायद त्यसले पनि म उहाँप्रति प्रभावित भएकी हुँ,” उनले भनिन्।

अहिले प्रदीपले भौतिक शरीर छोडेर गइसके। उनीसँग जीवनको लामो कालखण्ड बिताएकी भारती प्रभावित भएको त्यो व्यक्तित्व झन् गाढा बनेको छ।

प्रदीपले जीवनको उत्तरार्द्धमा आफू जन्मिएको सिराहास्थित बस्तीपुरमा आश्रम बनाएका थिए। बालबालिकालाई पढाउँथे।

जहाँ पनि पुस्तकलाई साथी बनाउने प्रदीपले लेखेका सामग्री बस्तीपुर, काठमाण्डूदेखि दिल्ली र मुम्बईमा पनि रहेको भारती बताउँछिन्।

उनको अध्ययनशील जीवनबाट प्रभावित हुनेहरू थुप्रै छन्। कतिपयले उनका सामग्रीहरू जोगाएर राख्नुपर्ने प्रस्ताव पनि गरेका छन्।

भारती त्यसमा सहमत छिन्। त्यसैले बस्तीपुरमा प्राज्ञिक अध्ययन केन्द्र बनाउन आवश्यक रहेको उनी ठान्छिन्।

बौद्धिक चिन्तकका रूपमा चिरपरिचित प्रदीपको विरासतले निरन्तरता पाओस् भन्ने उनको चाहना छ।

प्रदीप धेरैका गुरु थिए, उनी कसलाई गुरु मान्थे?

यो प्रश्नमा भारतीले एउटा रोचक प्रसङ्ग सुनाइन्। प्रदीप र भारती भारतको मथुरा गएका थिए। त्यहाँ गोस्वामी गुरुको मूर्तिमा प्रदीपले ढोगे।

यो दृश्य भारतीका लागि निकै छक्क पार्ने खालको थियो। उनले त्यसअघि प्रदीपले कुनै मूर्ति ढोगेको देखेकी थिइनन्।

अनौठो मानेर उनले त्यसो किन गरेको भनेर सोध्दा प्रदीपले गोस्वामीलाई ज्ञानको पारखी रहेको भन्दै आफूले गुरु मानेको बताए।

प्रदीपले गोस्वामीलगायत थुप्रैलाई गुरु मान्थे। भारतीले गुरुको कुरा गर्दा कार्ल मार्क्स, एङ्गल्स, महात्मा गान्धी, राममनोहर लोहिया, जयप्रकाश नारायणको नाम लिइन्। ती व्यक्तिलाई भन्दा पनि उनीहरूले दिएको ज्ञानलाई प्रदीपले गुरु मान्ने गरेको भारती बताउँछिन्।

“ज्ञान नै उहाँको गुरु हो,” भारतीले भनिन्।

ज्ञानकै कारण प्रदीपमा विश्लेषणात्मक क्षमता भएको र त्यसैलाई प्रस्तुत गरेर अरूलाई प्रभाव पार्न सक्ने खुबी उनमा रहेको भारती ठान्छिन्।

जोगी जीवन

प्रदीप आफूलाई जोगी हुँ भन्थे। उनलाई चिन्ने पनि कतिपयले उनलाई जोगी भन्थे।

भारतीको नजरमा जोगी भनेको प्रदीपको आध्यात्मिक पक्ष थियो।यो सामग्री हामीले बिबिसी नेपाल बाट लिइएका हौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै