Comments Add Comment

लमजुङमा १ वर्षमा ६८८ उद्योग थपिए

लमजुङ- लमजुङमा एक वर्षमा ६८८ नयाँ उद्योग थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालय लमजुङका अनुसार २०७८ साउनदेखि २०७९ असारसम्मको अवधिमा जिल्लामा विभिन्न प्रकृतिका ६८८ नयाँ उद्योग थपिएका हुन् ।

कार्यालयमा दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै ४६१ उद्योग कृषि तथा वन पैदावार सम्बन्धी छन् । कृषि तथा वन पैदावार उद्योग दर्ता मात्र १३ लाख तीन हजार ९०० सय रुपैयाँ राजस्व संकलन भएको छ ।

सोबाहेक १४८ सेवामूलक, ४० वटा उत्पादनमूलक र ३५ वटा पर्यटन उद्योग दर्ता भएका छन् । सेवामूलक उद्योग दर्ताबाट एक लाख ७१ हजार ५००, उत्पादनमूलक उद्योग दर्ताबाट ५४ हजार ५०० र पर्यटन उद्योग दर्ताबाट ३३ हजार रुपैयाँ राजस्व संकलन भएको घरेलु कार्यालयका प्रमुख मिताकुमारी थापाले बताइन् ।

यस्तै चार वटा निर्माणमा उद्योग दर्ता भएका छन् । सोबाट १० हजार ६०० राजस्व संकलन भएको छ । विभिन्न प्रकृतिका उद्योगमध्ये यसवर्ष ऊर्जामूलक, खनिज जन्य र विज्ञान तथा सुचना प्रविधिसम्बन्धी कनै पनि उद्योग दर्ता भएका छैनन् ।

गत आर्थिक वर्ष उद्योग दर्ताबाट मात्र १५ लाख ७३ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको घरेलु कार्यालयले जनाएको छ ।

घरेलु कार्यालयमा दर्ता संख्याअनुसार जिल्लामा गत वर्ष ४३२ जना महिला र २८२ पुरुष गरी कुल ७१४ जना नयाँ उद्यमी थपिएका छन् । उक्त उद्योगहरूमा एक हजार ८४ महिला र एक हजार २९७ पुरुष गरी दुई हजार ३८१ जनाले रोजगार पाएको तथा रोजगारीमा आबद्ध भएको घरेलु कार्यालयको तथ्याङ्कले देखाएको छ ।

विगत चार आर्थिक वर्षको उद्योग दर्ता तथ्यांकअनुसार सबैभन्दा धेरै अघिल्लो आर्थिक वर्ष ०७७/०७८ मा जिल्लामा ९७० उद्योग थपिएका थिए । आर्थिक वर्ष ०७४/०७५ मा २७६, ०७५/०७६ मा ४६८ र ०७६/०७७ मा ६६९ उद्योग दर्ता भएको घरेलु कार्यालयको तथ्याङ्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै