Comments Add Comment

निर्वाचनको दिन उत्पतिका एकादशी,मासुभात खाना नपाउनेमा भैसक्यो चिन्ता !

काठमाडौं- सरकारले मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्ने निर्णय गरेको छ। कांग्रेसका एक नेताका अनुसार ज्योतिषमा विश्वास गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले उत्पतिका एकादशी शासकका लागि शुभ हुने भएकाले रोजेका हुन्।

जबकी निर्वाचन आयोगले भने सरकारलाई मंसिर २ गते निर्वाचन गर्न सिफारिस गरेको थियो। देउवाले गठबन्धनका अन्य नेताहरुसँग भन्दा पहिले ज्योतिषसँग सल्लाह गरेको ती नेताको दाबी छ।

उनी भन्छन्, ‘मंसिर ४ मा उत्पतिका एकादशी पर्छ। धार्मिक मान्यताअनुसार त्यो खराबविरुद्ध असलको जितको दिन हो। त्यसैले मंसिर ४ मा चुनाव गर्ने कुरामा सभापतिज्यूले जोड दिनुभएको होला।’

गठबन्धनका नेताहरुलाई भने देउवाले मंसिर ४ को निर्वाचनका लागि बुधबार मात्रै मनाएका हुन्। उक्त तिथि–मितिसमेत देउवा आफैंले प्रस्ताव गरेर गठबन्धनमा सहमति जुटाएका थिए।

साउन १० गते नै लागेको थियो टुंगो
चुनाव मंसिर ४ गते गर्ने टुंगो साउन १० गते नै लागेको थियो। प्रधानमन्त्री देउवा र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको उक्त दिन प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको थियो।

भेटमा देउवाले मंसिर २ नभइ ४ गते निर्वाचन गर्नुपर्ने प्रमुख आयुक्त थपलियालाई बताएका थिए। थपलियाले साउन १० गते आगामी मंसिर ४ गते प्रदेश र संघीय संसद्को चुनाव हुनसक्ने बताएका थिए।
स्थानीय तह निर्वाचनको परिणाम र खर्च विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ‘सम्भवतः अर्को मन्त्रिपरिषद् बैठक’ले निर्वाचनको मिति तोक्नेसमेत उल्लेख गरेका थिए।

उनले उक्त पत्रकार सम्मेलनमा भने, ‘आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन गर्नका निम्ति आयोगले सम्पूर्ण व्यहोरासहित एकै चरणमा गर्ने गरी मिति सिफारिस गरिसकेको छ। आयोगको परामर्शमा नेपाल सरकारबाट मिति तय हुने कानुनी व्यवस्था अनुसार आउँदो क्याबिनेटको बैठकबाट मंसिर ४ गतेको मिति तोकियो भने यसलाई आश्चर्य नमान्दा हुन्छ।’

आयुक्त थपलियाको भनाइलाई दुई दिनपछि साउन १२ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुष्टि गरेका थिए। उनले मंसिर ४ मै संघ र प्रदेशको निर्वाचन हुने बताउँदै प्रधानमन्त्री देउवा त्यही दिन वा अर्को दिन घोषणा गर्ने तयारीमा रहेको तर आफूले रोकेको बताए।

अध्यक्ष प्रचण्डले अर्थमन्त्रीमा जनार्दन शर्मालाई फेरि नियुक्त गर्नका लागि केही दिन पर्खिन आग्रह गरेका हुन्। जुन भइसकेको छ। उनले पार्टीनिकट प्रेस सेन्टरका पदाधिकारीसँग छलफलमा गर्दै केही दिनमै चुनाव घोषणा हुने बताएका थिए।

उनको भनाइ थियो, ‘प्रधानमन्त्री देउवाले आज-भोलिमै निर्वाचनको घोषणा गर्छु भनेको भए पनि मैले केही कानुन निर्माण भएपछि मात्रै गर्न सुझाव दिएको छु।’ मंसिर ४ मै निर्वाचन तय गरिएको पुष्टि नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले साउन १३ गते गरे।

नेपाल प्रेस युनियनको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रममा उनले उक्त मितिमा निर्वाचन हुने पक्कापक्की भएको बताए। उनको भनाइ थियो, ‘मंसिर ४ गते निर्वाचन हुँदैछ । पक्कापक्की छ। केही दिनमा औपचारिक रूपमा त्यो घोषणा हुन्छ।’

प्रतिनिधि सभाको कार्यकाल मंसिरसम्मै
सुरुमा सत्ता गठबन्धनका अन्य दलले चुनाव फागुनमा गर्नुपर्नेमा जोड दिएका थिए। उपसभामुख पुष्पा भूसालको शपथ ग्रहणका दिन राष्ट्रपति निवासमा गठबन्धनका शीर्ष नेताहरुबीच प्रतिनिधि सभाको कार्यकालका विषयमा छलफल चलेको थियो।

छलफलमा मंसिरसम्म नै प्रतिनिधि सभा रहनुपर्नेमा नेताहरुले जोड दिएका थिए। निर्वाचन घोषणापछि प्रतिनिधि सभा स्वत: भंग हुने हुँदा फागुनमा निर्वाचन सार्न एकीकृत समाजवादी र माओवादी केन्द्रका नेताहरुले जोड दिएका थिए।

यस विषयमा कानुनी परामर्श गरेर टुंगोमा पुग्ने कुरा त्यहाँ भएको सभामुख अग्नि सापकोटाले पछि एक पत्रकार भेटघाटमा बताएका थिए। देउवानिकट कानुन व्यवसायीले निर्वाचन घोषणा गरे पनि मंसिरसम्मै संसद् रहने परामर्श दिएको बताइएको छ। सोही आधारमा सहयात्री दलका नेताहरुलाई देउवाले मंसिरमै निर्वाचन गराउन राजी गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै