Comments Add Comment

महँगीले आक्रान्त अमेरिकी घरमै पकाउँदै, साथीभाइकामा पाहुना लाग्दै

: बढ्दो महँगीले आक्रान्त अमेरिकी नागरिक हिजोआज घरमै खाना पकाउन, परिवारसँग रमाउन र बेलाबखत आफन्ती तथा साथीभाइकोमा पाहुना लाग्न थालेका छन्। उनीहरूले सवारी साधन हुँइक्याएर टाढाटाढासम्मको यात्रालाई पनि अहिले थाती राखेका छन्।

घरमै पर्याप्तमात्रामा खानेकुरा पकायो, सम्भवभएसम्म रेष्टुरा नगयो, घरै बस्यो। छोटो दुरीमा मात्र यात्रा गर्यो। खर्च जोगाउन यस्तै दैनिकी बनेको छ अमेरिकीको आजभोलि।

उत्तरी भर्जिनियास्थित एउटा सुपथमूल्य खुद्रा पसलमा भेटिएका जोन खाद्यवस्तुको चर्को मूल्यवृद्धिका कारण घरमा आफै विविध परिकार पकाउन थालेका छन्। आफ्नो पहिलो नाममात्र उद्धरण गर्न चाहने उनी विरलै रेष्टुरातिर जान्छन्। सरकारी कर्मचारी उनी एक झोला कुखुराका साँप्रा र १० टुक्रा कुखुराका पँखेटाको मूल्य उस्तै भएको बताउँछन्।

दशकौपछि अमेरिकामा महँगी अचाक्ली बढेको छ। खर्च जोगाउन धेरै अमेरिकी नागरिकले विविध उपाय अवलम्बन गरेका छन्। अमेरिकी उपभोक्ता मूल्य सूचकाङ्क चारदशकपछि पहिलोपटक गत जेठमा ९.१ प्रतिशतले बढेको थियो। त्यसयता खाद्य सूचकाङ्क १०.४ प्रतिशतले बढ्दा मध्यमवर्गीय अमेरिकीलाई हातमुखजोर्न धौधौ भएको छ। मूल्यवृद्धि नभएका कुनै वस्तु छैनन्। दशौँलाख अमेरिकी इन्धनको मूल्य बढेपछि थप पिरोलिएका छन्।

चर्को मूल्य चुकाएर हवाईजहाजबाट यात्रा गर्ने चाहना पनि अब धेरैको रहेन। न्यूयोर्क महानगरका सेवा निवृत्त शिक्षिका ग्लोलिया ब्राण्डम्यानले हवाईजहाज नचढेको धेरै भयो। भाडा महँगो भएकाले जहाजको सट्टा मोटरकारमा यात्रा गर्दै आएको बताउने उनले पेट्रोलको बढेको मूल्यले अब त्यसमा पनि यो वर्ष कटौती गर्ने तरखरमा आफू रहेको सुनाइन्। पुरानो कारलाई मर्मतसम्भार गरेर दौडाइरहेको उनले बताइन्। उच्च मूल्यकै कारण नयाँ कार किन्न नसकेको उनको कथन छ।

उत्तरी भर्जिनियाका स्थायी बासिन्दा जेम्स पेट्रोलको मूल्य वृद्धिले तनाव बढाएको दुःखेसो गर्छन्। हरेकपटक कारको इन्धनट्याङ्क भर्दा उनले थप ३० डलर तिर्नुपर्छ। पाएसम्म र भ्याएसम्मसार्वजनिक यातायात सेवा प्रयोग गर्ने गरेको उनले बताए।

घरभाडा पनि अनपेक्षितरूपमा बढेको छ। त्यो अहिले १२ देखि २० प्रतिशतले वृद्धि भएको छ। केन्टकीको किराना पसलमा काम गर्ने आफ्नी भतिजी घरभाडा तिर्न नसकेर आफूसँगै बस्न आएकी आर्था फक्स जोन बताउँछिन्। बढ्दो आवास भाडाले घरबारविहीनको सङ्ख्या बढ्ने चिन्ता पनि अमेरिकामा बढेको छ। देशको अर्थतन्त्रसँग पनि अमेरिकी नागरिक खुशी नभएका अन्तरराष्ट्रिय मुद्राकोषका एकजना पूर्व अधिकारीले बताएका छन्। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै