Comments Add Comment

‘परिवारवाद’ ले यसरी भयो राजापाक्षे शासनको पतन र श्रीलंकाको पतन

राजापाक्षे परिवारका गोटाबाया राजापाक्षे राष्ट्रपति । राजापाक्षे परिवारका महीन्द्रा राजापाक्षे प्रधानमन्त्री, महीन्दाका जेठा छोरा नमाल राजापाक्षे युवा तथा खेलकुदमन्त्री । महीन्दाका जेठा दाजु चमाल राजापाक्षे सिंचाईमन्त्री । उनका छोरा ससिन्द्रा राजापाक्षे राज्यमन्त्री । परिवारमा जो जो उमेर पुगेका थिए तीमध्ये अधिकांश मन्त्री । सन् २०२० को घटना हो यो । श्रीलंका भनेकै राजापाक्षे परिवार जस्तो सन्देश गयो । लोकतन्त्रका नाममा परिवारवाद । लोकतन्त्रका नाममा मनपरीतन्त्र । श्रीलंकामा यो हदसम्मको अवस्था बन्यो ।

देशभन्दा माथि व्यक्ति हुँदैन । देशभन्दा माथि कुनै नेता विशेष पनि हुँदैन । देशभन्दा माथि परिवार हुँदैन । तर, श्रीलंकाको राजापाक्षे परिवारले देश नै आफ्नो परिवार जस्तो गर्यो । राजापाक्षेको दल श्रीलंका पिपल्स पार्टीले कोरोना भाइरसको महामारीकालमा भएको चुनावमा भारी बहुमत जितेको थियो । २२५ सदस्यीय संसदमा १४५ सिट जितेको थियो । राजापाक्षे परिवारमा चुनावी जीतको उन्माद देखियो । परिवारवाद हावी हुन थाल्यो ।

श्रीलंकाका मुख्य पदमा कि त राजापाक्षे परिवार पहिलो प्राथमिकतामा पर्दथ्यो कि त उनीहरुको नातेदार र विश्वासपात्रहरु । क्षमतावानहरु बाहिर पारिन थाले ।

श्रीलंकालाई दशकौं लामो तामिल पृथकतावादी सशस्त्र द्वन्द्वबाट मुक्ति दिलाएको जस महीन्दा राजापाक्षेले लिन सकेका थिए । उनी युद्धनायक मानिए । जसका कारण श्रीलंकामा दुई दशक एकछत्र शासन गर्न सके राजापाक्षे परिवारले । श्रीलंका भन्नु नै राजापाक्षे परिवार जसरी प्रस्तुत गरियो ।

दक्षिण एशियाको टापु देश श्रीलंका समृद्धीको उदाहरण थियो । शिक्षित प्रतिशत दक्षिण एशियाकै उच्च ९९ प्रतिशत छ । दक्षिण एशियाली देशहरुमध्ये प्रति व्यक्ति आय बढी भएकोमध्ये पर्दछ । तर, त्यस्तो देश टाट पल्टिएको छ । शासकहरुले राम्रा भन्दा हाम्रा खोज्न थाले । परिवारवाद हावी भयो । भूराजनीतिक संवेदनशीलता बिर्सेर विदेश नीति अबलम्बन गर्न थाले । अरबौं डलरको महङ्गो ब्याजदरको ऋण लिएर बन्दरगाह निर्माण गर्न थाले जुन सेतो हात्ति सावित भयो । श्रीलंका चरम आर्थिक संकटको दलदलमा भाँसियो ।

पर्यटन उद्दोगमा बढी भर पर्यो श्रीलंका । कोरोना भाइरसको महामारीले पर्यटन व्यवसाय खस्कियो । आन्तरिक उत्पादन निकै कम भइसकेको थियो । आयातमुखी अर्थतन्त्रको श्रीलंका पर्यटन व्यवसाय खस्किदा झन् समस्यामा प¥यो । इन्धन खरिदका लागि श्रीलंकासँग पैसा भएन । हुँदाहुँदा खाद्यान्न खरिदको पैसा भएन । मानिसहरु इन्धनको खपत घटाउन थाले । यतिसम्मकी खानेकुरा नै कम खान थाले । जनआक्रोश बढ्दै गयो ।

गोटाबाया राजापाक्षेको पूख्र्यौली घर आगजनी गरे । आक्रोश बढ्दै गएपछि तत्कालीन प्रधानमन्त्री महीन्दा राजापाक्षे भागेर नौसैनिक सुरक्षा घेरामा पुगे । उनले राजीनामा दिए । आक्रोश घटेन । गोटावाया राजापाक्षेको राजीनामा माग्न थालियो । उनी चुनाव लडेर जितेको राष्ट्रपति हुँ भन्दै पद छाड्न तयार भएनन् । जनआक्रोश बढ्दै गयो । असन्तुष्टि ज्वालामुखी बनिसकेको थियो । अन्तमा राष्ट्रपति भवनभित्रै पसे आक्रोशित जनता । राष्ट्रपतिको कक्षसम्म पुगे । राष्ट्रपति भवनभित्रको पौडीपोखरीमा पौडी खेल्न थाले । सुरक्षाकर्मीले जनआक्रोश रोक्न सकेन ।

कुनैबेला युद्ध युद्धनायक महीन्द्रा राजापाक्षे र उनका भाई गोटावाया राजापाक्षे खलनायकमा परिणत भए । दुई दशकसम्म एउटै परिवारको शासन रह्यो श्रीलंकामा । त्यस्तो परिवार जसले इतिहासको कुनै कालखण्डको योगदानलाई भविष्यसम्मको ब्याज सम्झेर सत्ताको लाभ लिन खोजिरह्यो । श्रीलंकामा विकासका नाममा जनता र देशमाथि ऋणको भार बोकाइरह्यो । थेग्न नसक्ने खालका ऋण लिएर पूर्वाधार निर्माण गरे । त्यो नै श्रीलंकाका लागि भारी बन्यो । जसको मूल्य श्रीलंकाली जनताले चुकाउनुप¥यो । देश टाट पल्टियो र जनताको आक्रोशको सुनामीले राजापाक्षे परिवारको सत्तामाथि धावा बोल्यो ।

कुनैपनि देशको शासक व्यक्तिगत र पारिवारिक हितमा लाग्छन् भने त्यस्तो नेताको विनाश हुन्छ । राजापाक्षे परिवारको हकमा यही लागू हुनलागेको छ । हिजो जुन जनताले साथ दिएका थिए आज त्यहीं जनताको आक्रमणको सामना गर्नुप¥यो । भागेर जाने ठाउँ पनि भएन । अज्ञात ठाउँमा लुक्नुपरेको छ । जनतालाई रैती सम्झेर व्यवहार गर्ने, भारी मत दिएर सत्तामा पु¥याएका छन् भन्दैमा देश भन्दा आफू माथि हुँ जसरी मनपरीतन्त्र लागू गर्न खोज्ने कुनै पनि शासक या नेताको भविष्य खतरनाक हुन्छ । परिवारमोहले नेतालाई समाप्तीको दिशामा लान्छ । जनताले केही समय सहन्छन् तर अन्तिममा नराम्रो धक्का दिन्छन् । जनताको मौनताको बाँध तोडिन्छ । सुनामी ल्याइदिन्छन् अनि देशभन्दा आफू र परिवारलाई माथि ठान्नेहरुको विनाश गरिदिन्छन् । जनतासँग त्यो बल हुन्छ कमजोरी ठान्नु भुल हुन्छ । श्रीलंकाले यही उदाहरण दिएको छ ।

श्रीलंकाको राजनीतिमा जरो गाडेको राजापाक्षे परिवार र उक्त परिवार हावी रहेको श्रीलंका पिपल्स पार्टी इतिहासकै कठिन घडीमा छ । पतनको नजिक पुगेको छ । जनताले पतनको बाटो देखाइदिएका छन् । देशभन्दा माथि कोही हुँदैन । जनताभन्दा शक्तिशाली कोही हुँदैनन् भन्ने सन्देश श्रीलंकाली जनताले दिएका छन् । लोकतन्त्रको कमजोरीको फाइदा उठाउँदै तानाशाह टिक्दैन । श्रीलंकाली जनताले तानाशाहमाथि धक्का दिएका छन् ।रिपोर्टस नेपाल बाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै