Comments Add Comment

कोरोना संक्रमण तेस्रो लहरको संकेत, सरकार के गर्दैछ?

काठमाडौं : नेपालमा अहिले दैनिक सरदर ५० जनामा कोरोना संक्रमण देखिएको छ।

संक्रमितको संख्या पछिल्लो साता बढ्दो क्रममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकंले देखाउँछ। मुख्यतः भारतमा संक्रमितको संख्या बढ्दै जाँदा नेपाल सीमानाकासँग जोडिएकाले संक्रमितको संख्या बढेको स्वास्थ्य मन्त्रालयको प्रक्षेपण छ।

असार १४ मा ४४, असार १५ मा ६२, असार १६ मा ५५, असार १७ मा ५०, असार १८ मा ४४, असार १९ मा ५३, असार २० मा ४० जनामा संक्रमण देखिएको छ। औसत एक हप्तालाई आधार मान्दा दैनिक ५० जनामा संक्रमण देखिएको छ। यो संख्या केही दिनयताको उच्च हो।

नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको छ। धुलिखेल अस्पतालले गरेको अनुवांशिक परीक्षण (जिन सिक्वेन्सिङ) मा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ भेटिएको हो। यसरी हेर्दा पनि संक्रमणको जोखिम अझै नटरेको विज्ञहरु औंल्याउँछन्।

कोरोना संक्रमितको संख्या बढ्दै गए पनि अधिकांश नागरिकले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको पाइएको छ। स्वास्थ्य मन्त्रालयले भने कोरोना संक्रमण फैलिन नदिन आवश्यक तयारी भइरहेको बताएको छ। स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा.रोशन पोखरेलले सीमानाकाहरुमा एन्टीजेन परीक्षण भइरहेको बताए। उनले भने, ‘१३ वटा सिमानाकामा एन्टिजेन टेष्ट भइरहेको छ। साथै टेस्टिङ, ट्रेसिङ भइरहेको छ। स्थानीय तहको समन्वयमा केन्द्रअन्तर्गत राखेर परीक्षण भइरहेको हो।’

अस्पताल स्रोत म्यापिङ गर्दा हाल देशभरी ८ हजार २०२ वटा आइसोलेसन वेड, ३८ सय ४६ वटा हाइ डिपेन्डेन्सी वेड, २७ सय ९७ वटा आइसीयू वेड रहेका छन्। यस्तै, १ हजार ८ वटा भेन्टिलेटर, १५ हजार ४६५ वटा अक्सिजन सिलीण्डर, ६९३ वटा अक्सीजन कन्सन्ट्रेटर, १०४ वटा अक्सिजन प्लान्ट र २५ वटा अक्सिजन ट्याकं रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य सचिव डा. पोखरेलले कोभिड १९ संग सम्बन्धी पीसीआर परीक्षणको भारलाई कम गर्न एन्टीजेन परीक्षणलाई समेत प्रयोगमा ल्याउनुका साथै स्थल तथा हवाइ प्रवेश विन्दुहरुमा हेल्थ डेस्कहरु सञ्चालन गरी नियमित निगरानी राख्ने कार्यलाई अघि बढाइएको बताए। नयाँ भेरियन्ट आउन सक्ने कुरालाई मध्यनजर गर्दै जीन-सिक्युएन्सिङ गर्ने कार्य पनि निरन्तर गरिँदै आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हालसम्म ५ करोड ५५ लाख ८४ हजार ७७० मात्रा कोभिड १९ विरुद्धको खोप प्राप्त भएको छ। १ करोड ९८ लाख ९३ हजार ८४८ एक मात्रा, २ करोड ३ लाख ५२ हजार २२८ पूर्ण मात्रा र ६४ लाख ९७ हजार ३२३ बुस्टर (अतिरिक्त) मात्रा खोप लगाइसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। १२ वर्ष भन्दा माथिका ८७.२ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्। यस्तै ९९.५ प्रतिशतले कम्तिमा एक मात्रा खोप पाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै