Comments Add Comment

अटोमेटिक हतियार बोकेका ५८ कमान्डोले मुकेश अम्बानीलाई सुरक्षा,इजराइलका २० तालिमप्राप्त नीजि गार्ड

भारतका शीर्ष व्यापारी मुकेश अम्बानीको जेड प्लस सुरक्षाको मामिलामा केन्द्र सरकारलाई त्रिपुरा उच्च अदालतमार्फत् जारी निर्देशनमा सर्वोच्च अदालतले २९ जुनमा रोक लगाएको थियो ।

विकास साहा नामका व्यक्तिले अम्बानीको जेड प्लस सेक्युरिटीविरुद्ध त्रिपुरा उच्च अदालतमा जनहित याचिका दायर गरेका थिए । यसमाथि, उच्च अदालतले केन्द्रबाट जवाफ माग्दै खतरा मूल्याङ्कनको विवरण मागेको थियो, जसको आधारमा अम्बानी र उनको परिवारलाई सुरक्षा दिइएको छ । यसबाट आक्रोशित भएपछि केन्द्र सरकारले सर्वोच्च अदालतको ढोका ढक्ढकाएको थियो ।

यसअघि, केन्द्र सरकारले सर्वोच्च अदालतसँगको अपिलमा कुनै पनि परिवारलाई दिइएको सुरक्षा सार्वजनिक हितको मुद्दा नभई अम्बानीको सुरक्षाको त्रिपुरासँग कुनै सम्बन्ध नभएको बताएको थियो ।

यस विषयमा सर्वोच्च अदालतको निर्णय आउन बाँकी नै छ । मुकेश अम्बानीको सुरक्षाबारे एक भारतीय सञ्चार माध्यमले पूर्ण विवरण पेश गरेको छ, यसलाई रातोपाटीले अनुवाद गरेर पेश गरेका छौँ ।

एक मिनेटमा ८०० राउन्ड गोली दाग्न सक्ने मेसिन गन बोकेका ५८ सीआरपीएफ कमान्डो

रिपोर्टका अनुसार मुकेश अम्बानी र उनको परिवारको सुरक्षाका लागि सीआरपीएफका करिब ५८ कमाण्डो २४ घण्टा तैनाथ हुन्छन् । अटोमेटिक हतियारले सजिएका यी हतियारधारी सिपाहीहरू जहाँ जाँदा पनि अम्बानी परिवारसँगै हुन्छन् ।

यी सैनिक हेकलर एन्ड कोच एमपीफाइभ सब-मेसिन गनसहित थुप्रै आधुनिक हतियारले सुसज्जित छन् । हेकलर एन्ड कोच एमपीफाइभ सब-मेसिन गन जर्मनीमा निर्मित बन्दुक हो । यसबाट एक मिनेटमा ८०० राउण्ड गोली चलाउन सकिन्छ ।

अम्बानीको सुरक्षामा संलग्न हरेक सिपाही मार्शल आर्ट र निशस्त्र लडाई कौशलमा विशेषज्ञ छन् । अम्बानीको सुरक्षामा तैनाथ गरिएका सीआरपीएफ कमाण्डो फोर्समा सशस्त्र गार्डहरू, सँगै हिँड्ने सुरक्षाकर्मी, ड्राइभर, व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ), तलासी लिने टिम समावेश छन् ।

यी कमाण्डो दुई शिफ्टमा काम गर्छन् र तिनीहरू सीआरपीएफको इन्स्पेक्टर स्तरका अधिकारीको निरीक्षणमा काम गर्छन् ।

अम्बानीले यी कमाण्डहरूलाई आवास र खाना सहित अन्य सुविधाहरू प्रदान गर्छन् । सीआरपीएफका कर्मचारीहरूले अम्बानीको घर वरपरको शंकास्पद गतिविधि वा व्यक्तिहरूमाथि निगरानी राख्छन् ।

उनको घर वरपरको सम्पूर्ण क्षेत्र उच्च रिजोल्युसन सीसीटीभी क्यामेराले कभर गरिएको छ । गेटमा, भवनभित्र र घरबाहिर पार्क गरिएका सवारीसाधनमा सशस्त्र सुरक्षाकर्मी तैनाथ छन् ।

इजरायलका तालिमप्राप्त २० व्यक्तिगत सुरक्षाकर्मी, जसले हतियार बिना सुरक्षा दिन सक्छन्

इजरायली कमाण्डो र सैनिकहरूले हतियार प्रयोग नगरीकनै दुश्मनमाथि हमला गर्छन् । यसका लागि, उनीहरु संसारको सबैभन्दा खतरनाक मार्शल आर्टमध्ये एक ( क्राव मगामा तालिम दिइएको छ । यस कारण इजरायली कमाण्डोहरू भीभीआइपीको सुरक्षाको लागि सर्वोत्कृष्ट मानिन्छन् ।

सीआरपीएफबाहेक, मुकेश अम्बानीसँग लगभग १५–२० व्यक्तिगत सुरक्षाकर्मी छन्, जो हतियारविहीन हुन्छन् । उनका नीजि सुरक्षाकर्मीलाई इजरायलको सुरक्षा फर्मबाट तालिम दिइएको छ ।

अम्बानी र उनको परिवारको सुरक्षाका लागि तैनाथ गरिएका यी निजी सुरक्षा गार्डहरूलाई पनि क्राभ मगाको तालिम दिइएको छ । यी गार्डहरू दुई शिफ्टमा काम गर्छन्, जसमा भारतीय सेना र एनएसजीका सैनिकहरू पनि समावेश छन् ।

अम्बानीले २.५ करोडको गाडीमा चढ्छन्, कार्केडका सबै गाडी बुलेटप्रुफ

मुकेश अम्बानी आफ्नो बुलेटप्रुफ बीएमडब्ल्यू वा मर्सिडीज कारमा यात्रा गर्छन्, जबकि उनका सुरक्षा गार्डहरू रेन्ज रोभरमा हिँड्छन् ।

हालै उनले आफ्नो कार्केडमा २.५ करोडको मर्सिडिज एएमजी जी ६३ मोडल समावेश गरेका छन् । अम्बानी हाल यो कारमा यात्रा गर्छन् ।

अम्बानीको कार्केडमा मर्सिडीज, बीएमडब्लू र रेन्ज रोभर कारहरू समावेश छन् । उनको कार्केडमा ६-८ वटा लक्जरी गाडी छन्, जसको मूल्य करिब १६ करोड भारु हो ।

अम्बानीको काफिलेमा सीआरपीएफ र निजी सुरक्षा गार्डहरूको ६–८ गाडी चल्छन्। तीमध्ये आधा गाडी अम्बानीको कारको अगाडि दौडिन्छन् भने बाँकी उनको कारलाई पछ्याउँछन् ।

यी गाडीमा सवार सबै सुरक्षाकर्मी वाकीटकीमार्फत् एकअर्कासँग जोडिएका हुन्छन् ।

जेड प्लस सेक्युरिटीको खर्च अम्बानी आफैले बेहोरेका छन्

मुकेश अम्बानी र उनको परिवारले प्राप्त गरेको जेड प्लस सुरक्षामा प्रत्येक महिना १५.२० लाख भारु खर्च हुन्छ । यी सबै खर्च अम्बानी आफैँले बेहोरेका छन् ।

मुकेश अम्बानी आफ्नो जेड प्लस सेक्युरिटीको खर्च आफैँले वहन गर्ने पहिलो व्यक्ति बने । धेरैजसो अवस्थामा, जेड प्लस सुरक्षाको लागत सरकारले वहन गर्छ ।

यो खर्चमा सुरक्षामा खटिएका सुरक्षाकर्मीको तलब, उनीहरुको तैनाथी र सुरक्षामा खटिएका सवारी साधनको खर्च समावेश हुन्छ ।

सुरक्षा खर्चबाहेक, अम्बानीले सुरक्षाकर्मीहरूको लागि ब्यारेकहरू पनि उपलब्ध गराउनु पर्छ, जसमा उनीहरूको क्वार्टर, भान्छा र शौचालयहरू समावेश छन् ।

अम्बानी र उनको परिवारलाई प्रदान गरिएको जेड प्लस सुरक्षाबाहेक, उनको कम्पनी रिलायन्स इन्डष्ट्रिजको जामनगरस्थित रिफाइनरीको सुरक्षाको जिम्मा पनि केन्द्रीय औद्योगिक सुरक्षा बल अर्थात् सीआईएसएफले सम्हाल्ने गर्छ ।

रिपोर्टका अनुसार रिलायन्सले यसका लागि सीआईएसइफलाई हरेक महिना ३४ लाख भारु भुक्तानी गर्छ ।ratopati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै