Comments Add Comment

यी ब्रोकर कम्पनीले गर्दैछन् शाखा बिस्तार,कुन ब्रोकर आउदै छ तपाईंको घर नजिक ?

नेपाल धितोपत्र बोर्डले उपत्यकाबाहिर शाखा सञ्चालन गर्न चाहने २३ ब्रोकर कम्पनीलाई शाखा विस्तारको अनुमति दिएको छ । बोर्डका अनुसार शाखा विस्तारका लागि आवेदन दिएका कम्पनीमध्ये १२ वटाले २३ स्थानमा शाखा खोल्ने अनुमति पाएका हुन् ।

अनुमति पाउनेमा त्रिशूल, सेक्युर्ड, आर्यतारा इन्भेस्टमेन्ट, अक्सफोर्ड, अनलाइन, दिव्या, जेएफ, दीपशिला धितोपत्र कारोबार कम्पनी, डायनामिक मनी म्यानेजर्स, मल्ल एण्ड मल्ल स्टक, भिजन सेक्युरिटिज र नेपाल स्टक हाउस छन् ।

यी कम्पनीहरूले नेपालका २३ वटा स्थानमा शाखा कार्यालय खोल्न पाउने भएका छन्, जसमा सेक्युुर्ड सेक्युरिटिजले झापाको दमकमा, त्रिशूलले नवलपुरको कावासोतीमा र आर्यतारा इन्भेस्टमेन्ट एण्ड सेक्युरिटिजले पाल्पाको तानसेन र भैरहवाको रुपन्देहीमा शाखा विस्तार गर्ने भएका हुन् ।

त्यस्तै, अक्सफोर्ड सेक्युरिटिजले नवलपरासीको नवलपुरमा, अनलाइन सेक्युरिटिजले रामेछापको मन्थली, महोत्तरीको बर्दिबास, मोरङको उर्लाबारी, नुवाकोटको बट्टारमा शाखा विस्तार गर्ने भएको हो । यसमध्ये नुवाकोटमा भने सञ्चालनमा आइसकेको छ ।

योबाहेक दिव्या सेक्युरिटिज एण्ड स्टक हाउसले पर्वतको कुस्मा र जेएफ सेक्युरिटिजले दाङको तुलसीपुरमा शाखा विस्तार गर्दै छ ।

भिजन सेक्युरिटीले भने एकैपटक तीनवटा स्थानमा शाखा विस्तार गर्न अनुमति पाएको छ । यो कम्पनीले नवलपरासीको कावासोती, म्याग्दीको बेनी, तनहुँको दमौलीमा शाखा विस्तार गर्ने अनुमति पाएको हो ।

बाँकी डायनामिक मनी म्यानेजर्स सेक्युरिटिजले चितवनको भरतपुर र नेपाल स्टक हाउसले नुवाकोटको विदुर र कैलालीको टिकापुरमा शाखा विस्तार गर्ने अनुमति पाएको हो ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार नेपालमा हाल झण्डै ५२ लाखवटा लगानीकर्ताको डिम्याट खाता छ, जसमा २२ लाख लगानीकर्ता दोस्रो बजारमा सक्रिय छन् । नेपालमा हाल ५० वटा ब्रोकर कम्पनी सञ्चालनमा रहँदै आएका छन् । जसमा ४१ वटा कम्पनीले उपत्यकाबाहिर शाखा विस्तार गरेर सेवा दिँदै आएका छन् । अब थप २३ वटा शाखा विस्तारपछि उपत्यकाबाहिर मात्रै सञ्चालन हुने ब्रोकरका शाखा ७० वटा पुुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै