Comments Add Comment

बेलायतमा रोजगारीको अवसर : फलफूल टिप्ने काममा नेपाली, लाखौँ कमाई कसरी जाने?

काठमाडौं । आज पनि नेपालको अर्थतन्त्र विदेशी रेमिट्यान्समा भर परेको छ । नेपालीहरुका लागि नयाँ–नयाँ गन्तव्यको खोजी हुँदैछ ।

नेपालमा खेतीपाती र पर्यटकहरूलाई पथप्रदर्शकको रूपमा पनि काम गर्दै आएका बालकुमार खत्री हिजोआज बेलायतमा स्ट्राबेरी टिपिरहनु भएको छ ।

प्रत्येक वसन्तयाममा हजारौँ कामदारहरू बेलायतमा उत्पादन हुने नरम फलफूल टिप्न पुग्ने गर्छन् । तर यो पटक भने यसअघि भन्दा टाढा–टाढाबाट पनि कामदारहरू बेलायत पुगेका हुन् ।

ब्रेक्जिटभन्दा अघि पोल्यान्ड, रोमानिया र बुल्गेरियाबाट धेरैजसो कामदारहरू आउने गरेका थिए ।

तर अहिले बेलायतका उत्पादकहरूले नेपालीहरूलाई पनि कामदारका रूपमा भर्ती गरेका छन् । नेपाल जस्तै इन्डोनेशिया, मङ्गोलिया, ताजिकिस्तान, काजकस्तान र किर्गिस्तानबाट पनि कामदारहरू बेलायत पुगेका छन् ।

सामान्य अङ्ग्रेजी बोल्ने २६ वर्षीय खत्री त्यहाँ पुगेको धेरै भएको छैन । तर उहाँ त्यहाँ पुगेपछि फार्मका मालिकहरू खुशी भए । गर्मीयाममा पर्याप्त कामदार पाउन बेलायतमा निकै चुनौतीपूर्ण हुन्छ । यो पटक नरम फलफूल टिप्ने मौसम उत्कर्षमा पुग्नुअघि फलफूल खेती गर्नेहरूलाई पर्याप्त कामदार नपाइने चिन्ता थियो ।

अभाव
बेलायतका चर्चित सुपरमार्केटहरू वेटरोज, टेस्को, मार्क्स र स्पेन्सर लगायतमा आपूर्ति गर्दै आएको रेटफर्डनजिकै अवस्थित हार्विल फार्मकी जेनी टास्करसँग आफ्नो फार्ममा धेरै देशबाट आएकाहरूले काम गर्ने गरेको अनुभव छ । यो पटक उक्त फार्ममा विभिन्न नौ देशबाट कामदारहरू पुगेका छन् । तीमध्ये ३५ जना नेपाली छन् । भर्ती भएका नयाँ कामदारहरू कामका लागि तयार हुँदै गर्दा चुनौती भने बाँकी नै रहेको टास्कर बताउनुहुन्छ ।

नेपालीसहित विभिन्न देशका कामदारहरू अहिले फलफूल टिप्ने काम गर्न यूके पुगेका छन्
उहाँ भन्नुहुन्छ, ‘हामीले धेरै प्रकारका तालिम गराउँछौँ। त्यस कारण केही ढिलो भइरहेको छ । यसका लागि दुवै पक्षमा धैर्य आवश्यक छ ।’ तर अरू फार्म सञ्चालकजस्तै उहाँलाई पनि फल कुहिनुअघि नै टिप्न सकिँदैन कि भन्ने चिन्ता लाग्ने गरेको छ । बेलायतमा नरम प्रकारका फलफूल उत्पादनमा निरन्तर वृद्धि हुँदा सँगसँगै फलफूल खेर जाने दर पनि बढेको छ ।

बेरीहरू कहिले टिप्ने बेला हुन्छ भनेर अनुमान लगाउन निकै कठिन छ । तर जब फल पाक्छ टिप्नका लागि पर्खिने समय हुँदैन । उक्त निकायले गरेको सर्वेक्षणअनुसार कामदारको अभावका कारण फलहरू पाकेर नाश हुने दर पछिल्ला दुई वर्षमा दोब्बर भएको छ । ब्रिटिश बेरी ग्रोअर्सका अनुसार गत वर्ग ७६ करोड पाउन्डको फलफूल उत्पादन हुँदा करिब तीन करोड ३० लाख बराबरको उत्पादन खेर गएको थियो ।

चिन्ता
हार्विलमा काम गरिरहेका खत्रीसहितका कामदारहरूका लागि वाईफाईसहित आवासको सुविधा उपलब्ध छ । ब्रेक्जिटपछि युरोपेली संघमा आबद्ध देशहरूबाट आउने कामदारको सङ्ख्या घटेपछि बेलायतका किसानहरू कामदार खोज्न टाढाटाढासम्म पुग्ने गरेका छन् ।

गत वर्ष कामका लागि धेरै युक्रेनीहरू पनि पुगेका थिए । तर यो वर्ष युद्धका कारण १८ देखि ६० वर्षका युक्रेनीहरूलाई घरमै बसेर युद्ध लड्न त्यहाँको सरकारले अनुरोध गरेपछि उनीहरू आउन पाएनन् । बेलायतको संसदीय समितिले युक्रेन युद्ध, बेक्जिट र कोभिडका कारण यूकेको खाद्यक्षेत्रमा उत्पन्न चरम कामदार अभाव सम्बोधन गर्न कुनै कदम चाल्न नसकिए खाद्यसङ्कट हुन सक्ने चेतावनी दिएको छ ।

ब्रिटिश बेरी ग्रोअर्सका अध्यक्ष निक मार्स्टनका अनुसार त्यसपछि पनि मौसमी कामदारहरूका भिसा दिने प्रक्रिया रोकिएको छ । टाढाबाट आउने कामदारहरू समयमै पुग्नेमा उहाँ चिन्तित देखिनुहुन्छ । उहाँले भन्नुभयो, ‘यसले किसानहरूलाई निराश बनाएको छ। अहिले नै सङ्कटको बिन्दु आइसकेको छैन तर मलाई त्यो आउने चिन्ता छ ।’

धेरै कामदार
मौसमी कामदारहरू भर्तीका लागि अनुमतिप्राप्त चार कम्पनीमध्येको एक फ्रुटफुल जब्सका जस्टिन इमरीले बेलायत जान चाहने कामदारहरूको सङ्ख्या धेरै भएको बताउनुभयो । यो कम्पनीले ३७ देशबाट कामदारहरू भर्ती गर्ने गरेको छ । उनीहरूका अनुसार भिसा आवेदनका लागि लाग्ने शुल्क र प्रशासनिक प्रक्रिया पूरा गर्न समय लाग्छ ।

त्यसकारण टाढाका देशहरूबाट कामदार भर्ती गर्ने प्रक्रिया सहज छैन । यो पटक युक्रेनी शरणार्थीहरूको आगमनका कारण भिसा प्रक्रिया ढिलो भएको छ । तर पनि आफूहरूले समयमै कामदार ल्याइरहेको उहाँले जानकारी गराउनुभयो । पूर्वी बेलायतमा २४ वटा फार्मको सञ्जाल चलाइरहनु भएका टिम च्याम्बर्सले इन्डोनेशिया, भियतनाम र फिलिपिन्सजस्ता देशबाट कामदार नल्याउन भर्तीमा संलग्न कम्पनीहरूलाई भनेको स्पष्ट पार्नुभयो ।

जातीय वा त्यस्तै अन्य कुनै कारणले आफूले त्यस्तो नभनेको बताउँदै उहाँले भन्नुभयो, ‘तर मानिसहरूलाई पूरै नयाँ लाग्ने देश, संस्कृति र जीवनशैली हुने फार्ममा ल्यायो भने त्यसले अर्को समस्या निम्त्याउन सक्छ ।’ उहाँले पहिलो पटक भर्ती हुने कामदार २५ प्रतिशतसम्म कम उत्पादनशील हुने पनि स्वीकार गर्नुभयो । उहाँको फार्ममा अझै पनि मध्य र पूर्वी युरोपबाट ठूलो संख्यामा कामदार आउने गरेका छन् । उहाँले द्वन्द्व हुन सक्ने ठानेर रुसी र युक्रेनी कामदारहरूलाई सँगै नराखेको कुरा पनि उल्लेख गर्नुभयो ।

कमाइ
तर कामदारहरू लिने प्रतिस्पर्धा उच्च भएका कारण नयाँ ठाउँहरूबाट पनि कामदार लिनेबारे सोच विचार हुँदैछ । कामदार अभावकै कारण गत वर्ष १२ प्रतिशत र्‍यास्पबेरी टिप्न सकिएन् । बेलायत सरकारले पर्याप्त भिसा जारी नगरेको आरोप लाग्दै आएको छ ।

यो वर्ष बेलायत सरकारले ३०,००० भिसाको सीमा तोकेको थियो । उक्त सीमामा आवश्यक परे थप १०,००० सम्म कामदार थप गर्न मिल्छ । तर आगामी वर्षबाट यस्तो भिसाको सङ्ख्या घटाउँदै लगिने र स्थानीय कामदारहरूलाई नै प्राथमिकता दिने तथा प्रविधिको प्रयोग बढाउने नीति बन्दैछ । यस्ता कामदारहरूका लागि एक घण्टाको करिब १५०० नेपाली रुपैयाँ बराबर न्यूनतम ज्याला तोकिएको छ ।

तर कामदारहरूको ज्याला बढाउनुपर्ने माग पनि बढिरहेको छ । बेलायतको होम अफिसले सरकारले बेलायती किसानहरूले पर्याप्त जनशक्ति पाउने कुराको सुनिश्चितताका लागि सहयोग गर्न सरकार तयार रहेको बतायो । उक्त कार्यालयका एक प्रवक्ताले मौसमी कामदारहरू सन् २०२४ सम्म लिइने र त्यसपछि स्थानीय कामदारलाई यो क्षेत्रमा आकर्षित गर्ने सरकारको नीति रहेको जानकारी गराउनुभयो । बेलायत जानको लागि भने दलाली भन्दा पनि श्रम मन्त्रालयको श्रम शाखामा बुझेर जादा पैसा नडुब्ने र निकै सस्तो पर्ने श्रम मन्त्रालयले बताएको छ।बीबीसी नेपालीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै