Comments Add Comment

आर्थिक संकटको कारण चिया कम पिउन जनतालाई अनुरोध

काठमाडौँ — पाकिस्तानका जनतालाई देशको अर्थतन्त्रको हितको लागि ‘कम चिया पिउन’ भनिएको छ । वरिष्ठ मन्त्री एहसान इकबालले चियाका कपको संख्या घटाएर अर्थतन्त्रको हितमा जनताले योगदान दिन सक्ने बताए। उनले चियाको कप संख्या घटाउनु भनेको उच्च आयात बिल कटौती गर्नु हो भने ।

पाकिस्तानमा विदेशी मुद्रा सञ्चितिको नाजुक अवस्था छ । हालको अवस्था हेर्दा पाकिस्तानसँग दुई महिनालाई मात्र पुग्ने आयात गर्न सक्ने विदेशी मुद्रा सञ्चिति छ। पाकिस्तानमा विदेशी कोष बढाउने दबाब उत्पन्न भएको छ । विश्वमा सबैभन्दा बढी चिया आयात गर्ने देश पाकिस्तान हो । पाकिस्तानले हरेक वर्ष करिब ६० करोड डलरको चिया खरिद गर्छ । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार इकबालले जनतालाई अपील गर्दै भने, ‘म देशका जनतालाई चियाको एक(दुई कप कटौती गर्न अपील गर्दछु किनभने हामी ऋणमा चिया आयात गरिरहेका छौं ।

पाकिस्तानमा आर्थिक संकटसँग जुध्न साना(साना तर धेरै कदम चालिएका छन्। बिजुलीको बचत गर्न राती पसल बन्द गर्न सुझाव दिइएको छ। चिया पिउन कम गर्ने सुझावलाई लिएर सामाजिक सञ्जालमा धेरै चर्चा छ । धेरै मानिसले देश जुन आर्थिक संकटबाट गुज्रिरहेको छ त्यसको सुधार केही कप चियाको संख्या घटाएर मात्र हुन्छ भन्ने प्रश्न गरिरहेका छन् ।

यसअघि पाकिस्तानका अर्थमन्त्री मिफ्ताह इस्माइलले सोमबार यदि सरकारले जुलाईसम्म पेट्रोलियम उत्पादनहरूमा सब्सिडी हटाएन भने देशमा आर्थिक संकट हुने बताएका थिए । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले पेट्रोलियम पदार्थमा दिइने अनुदान हटाउनमा जोड दिएको अर्थमन्त्रीले एक सञ्चार माध्यमसँगको कुराकानीमा बताए । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै