Comments Add Comment

महाकाली तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिँदा एक जना बेपत्ता

दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले आज तुइन काटिदिँदा एक व्यक्ति नदीमा बेपत्ता भएका छन् । सदरमुकाम खलङ्गा आउने क्रममा ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन् ।

महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रमसिंह धामीले बताए ।

‘भारततर्फ पुग्ने बेला एसएसबीले एक्कासि तुइन काटिदियो, नदीको बिच भागमा पुग्ने बेला तुइन काटिएपछि उनी बेपत्ता भएका हुन्, पाँच छ जना स्थानीय सामान लिन भारतको बाटो हुँदै आइरहेका थियौँ’ धामीले भने, ‘पाँच छ जना तुइनबाट भारत तरेका थिए, जयसिंह तर्ने बेला एसएसबी पुगेर तुइन काटिदिए, भारत पांगलमा रहेका एसएसबीले तुइन काटिदिएका हुन् ।’

धामी बेपत्ता भएपछि अहिले स्थानीय आक्रोशित बनेका छन् ।

नेपालतर्फ मालघाट र भारततर्फ जयकोट गस्कोमा स्थानीय बासिन्दाले वारपार गर्न तुइन राखेको र आउजाउ गर्ने गरेको तर एसएसबीले तुइन काटेर धामी बेपत्ता भएकोबारे यसै भन्न नसकिने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

तुइनबाट खसेर बेपत्ता भएका धामीको खोजी गर्न र घटनाबारे बुझ्न टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक (इन्सपेक्टर) एवम् सूचना अधिकारी नरेन्द्र चन्दले बताए । घटनापछि स्थानीय बासिन्दाले जिल्ला प्रशासन कार्यालयमा पनि जानकारी गराएका छन् ।

नेपालतर्फ सडक नहुँदा व्यास क्षेत्रका बासिन्दाले सदरमुकाम खलङ्गा आउन भारतको बाटो हुँदै महाकाली नदीमा तुइन तरेर आउनुपर्ने बाध्यता छ । पुल बनाउन २०७६ सालमा ठेक्का लागेको भए पनि अहिलेसम्म बन्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै