Comments Add Comment

विद्युतीय कारमा कर हटेसंगै नेपाल आउदै ५ नयाँ मोडेल(तस्बिरसहित)

काठमाडौं । सरकारले ल्याएको आगामी वर्षको बजेटले विद्युतीय कारमा लगाएको अन्तःशुल्क पूर्णरुपमा खारेज र भन्सारमा भारी कटौती गरेसँगै विभिन्न कम्पनीले नयाँ इलेक्ट्रीक गाडी नेपाल ल्याउने बताएका छन् ।

अहिले भारतीय बजार र अन्य अन्तर्राष्ट्रिय बजारमा विक्री हुँदै आएको विभिन्न् मोडल नेपाल ल्याउने छन् । यस्तोमा टाटा नेक्सन, निसान लिफ, ग्रेटवाल ओरा आर १, महिन्द्रा इकेयूभी १०० र प्यूजो २००८ इभी नेपाल आउने क्रममा रहेका छन् ।

अहिले कोभिड १९ को संक्रमणको कारण नेपालका अधिकांश क्षेत्र बन्द अवस्थामा छन् भने भारत लगायतका देशमा पनि कोभिड प्रभाव निकै परिरहेको छ । यस्तोमा वातावरण केही सहज हुनासाथ कम्पनीहरुले नयाँ गाडी ल्याउने प्रक्रिया सुरु गर्ने जनाएका छन् ।

१. निसान लिफ

काठमाडौं । नेपालको लागि निसानको आधिकारीक बिक्रेता पायोनियर मोटो कर्पले अघिल्लो वर्ष नै नेपाल ल्याउने तयारी गरेको निसान लिफ कर वृद्धिसँगै रोकिएको थियो । विश्व बजारमा उपलब्ध निसान लिफमा १६० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । उक्त मोटरले २१४ बीएच पावर प्रदान गर्ने कम्पनीको आधिकारीक वेभसाइटमा उल्लेख गरिएको छ । लिफले एक पटकको पूलचार्जमा ३६३ किलोमिटर रेञ्ज प्रदान गर्नेछ ।

कारमा व्याट्री बचतको लागि विभिन्न तीन मोडहरु उपलब्ध रहेका छन् । इको मोडमा कार चलाउदा सामान्यभन्दा १० प्रतिशतले रेञ्ज बढ्ने कम्पनीले दाबी गरेको छ । यस कारमा ४० किलोवाटको लिथिएम आयन ब्याट्रीको प्रयोग गरिएको छ । कारमा नै दिइएको ३ किलोवाट क्षमताको चार्जरले ब्याट्री चार्ज गर्न १६ घन्टा लाग्ने छ भने, ६ किलोवाट चार्जर प्रयोग गर्दा ८ घन्टामा फुलचार्ज गर्न सकिने छ ।

२. टाटा नेक्सन

टाटाको सफल एसयूभी नेक्सनलाई इलेक्ट्रीक भर्सनमा पनि कम्पनीले भारतमा विक्री गर्दै आएको छ । अघिल्लो वर्ष नै नेपालमा यसको विक्री सुरु हुने बताइएको थियो । अब भने नेक्सन इभी नेपाल आउन सक्ने छ । फिचरले भरीपूर्ण नेक्सन इभीमा टाटाले उत्कृष्ट फिचर प्रदान गरेको छ । यसमा सनरुफ, कनेक्ट कार फिचर, ७ इन्चको टीएफटी डिस्प्ले, प्रोजेक्टर हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, १६ इन्चको डायमन्ड कट अलोय ह्वील, अटो हेडल्याम्प, रेन सेन्सिङ वाइपर, हर्मनको ८ वटा स्पीकर, ७ इन्चको फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, स्मार्टफोन कनेक्टीभीटी, मल्टी ड्राइभ मोड लगायतका फिचर पाउन सकिन्छ ।


नेक्सनको अधिकतम पावर १२९ पीएस रहेको छ भने यसको पीक टर्क २४५ एनएम रहेको छ । यो कारले सून्यदेखि १०० किलोमिटरको रफ्तार ९.९ सेकेन्डमा भेट्टाउन सक्नेछ । सून्यदेखि ६० किलोमिटरको स्पीड भने ४.६ सेकेन्डमा भेट्टाउन सक्छ । अहिले बजारमा विक्री भइरहेको इलेक्ट्रीक गाडी मध्य नेक्सन इभीमा सबैभन्दा धेरै ग्राउन्ड क्लियरेन्स रहेको छ । यसलाई एक पटकको फुलचार्जमा ३१२ किलोमिटर गुडाउन सकिने एआरएआईले प्रमाणित गरेको छ । यद्यपी सडकमा यसको रेञ्ज २५० किलोमिटर हुने विभिन्न रिपोर्टले उल्लेख गरेका छन् ।

३. ओरा आर १

ओरा आर १ चिनियाँ कम्पनी ग्रेटवाल मोटर्सले उत्पादन गरेको सानो इलेक्ट्रीक कार हो । सानो साइज, उत्कृष्ट डिजाइन, एक पटकको फुलचार्जमा ३५० किलोमिटर भन्दा बढीको रेञ्ज यसको प्रमुख विशेषता हो । भिजी इम्पेक्सले चाँडै यसलाई नेपाली बजारमा ल्याउने यसअघि नै जनाइसकेको छ ।

ओरा आर १ मा ९.० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ भने कनेक्टेड कार टेक्नोलोजी, टायर प्रेशर मोनिटरिङ सिस्टम, रिभर्स पार्किङ सेन्सर जस्ता फिचरले यसलाई उत्कृष्ट बनाएको छ । यसको सबैभन्दा बलियो पक्ष भनेको मूल्य हो । यो संसरकै सस्तो इलेक्ट्रीक कारको रुपमा परिचित रहेको छ ।

४. इकेयूभी १००

विद्युतीय गाडीको लागि नेपालमा परिचित ब्राण्ड महिन्द्राले इलेक्ट्रीक केयूभी १०० नेपाल आउने छ । भारतीय मोटर उत्पादक कम्पनी महिन्द्राको इलेक्ट्रीक माइक्रो एसयूभी केयूभी १०० कोभिड १९ कै कारण भारतमा पनि विक्री सुरु गरेको छैन । तर, केही समयपछि भारत र नेपालमा नै यसको विक्री सुरु हुने अनुमान गरिएको छ ।

महिन्द्राले अहिले विक्री गर्दै आएको कम्बस्चन इन्जिनयुक्त मोडलकै अधिकांश फिचर उपलब्ध रहेको इकेयूभी–१०० मा ४० किलोवाटको नयाँ मोटर दिइएको छ । यसमा प्रयोग भएको व्याट्री ५ घण्टा ४५ मिनेटमा घरायसी प्रयोजनको रेगुलर चार्जरबाट फुल चार्ज गर्न सकिन्छ भने, ४५ मिनेटमा फास्ट चार्जरबाट ८० प्रतिशत चार्ज गर्न सकिने दाबी कम्पनीको छ । इकेयूभी-१०० ले एक पटकको फुल चार्जमा १ सय ४० किलोमिटरसम्म रेञ्ज प्रदान गर्ने छ ।

५. प्यूजो २००८

यूरोपियन ब्राण्ड प्यूजोको नयाँ इलेक्ट्रीक कार ‘२००८’ मोडल नेपाल आउने अर्को मोडल हो । कोभिड १९ को कारण देशका मुख्य सहरहरुमा लकडाउन भइरहेकाले नेपाल ल्याउन केही ढिलाई भएको यो मोडल लकडाउन सकिएपछि नेपाल ल्याउने तयारी भइरहेको छ । प्यूजोको आधिकारीक वितरक साँग्रिला मोटर्सले नेपाल ल्याउने प्यूजो २००८ इलेक्ट्रीकमा ५० किलोवाट आवर क्षमताको लिथियम आयोन व्याट्री रहेको छ भने यसमा १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर प्रयोग भएको छ ।

यसलाई घरायसी विजुलीबाट ७.४ किलोवाट क्षमताको चार्जरले चार्जगर्दा फुलचार्ज हुन ७ घन्टा लाग्ने बताइएको छ । यसलाई ९९ किलोवाट क्षमताको डिसी चार्जरबाट ३१ मिनेट चार्जगर्दा २०० किलोमिटर गुगाउन सक्ने जनाइएको छ । एक पटक फुलचार्ज भएपछि यसलाई जस्तो सुकै मौसममा पनि २८५ किलोमिटर गुडाउन सकिने छ । सहरी क्षेत्रमा यसको रेञ्ज ३७५ किलोमिटर र हाइवेमा २२५ किलोमिटर रहने कम्पनीको दाबी छ । एनइडीसीले यसको रेञ्ज ४३० किलोमिटर र डब्ल्यूएलटीपी रेटिङले ३३१ किलोमिटर प्रमाणित गरेको छ ।
meroauto.com बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै