Comments Add Comment

बागमती प्रदेश : विनियोजन विधेयकमाथि सत्तापक्ष र विपक्षी सांसदले गरे आलोचना

बागमती प्रदेश : विनियोजन विधेयकमाथि सत्तापक्ष र विपक्षी सांसदले गरे आलोचना

बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०७८-०७९ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सतापक्ष र विपक्षी सांसदले आलोचना गरेका छन् ।

प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) पेस गरेपछि छलफलका क्रममा सांसदहरूले बजेटका सिद्धान्त र प्राथमिकताबारे आलोचना गरेका हुन् ।

विधेयकमाथि सोमबार डेढ दर्जन सांसदहरूले धारणा प्रस्तुत गरेका थिए । कोरोना महामारीको समयमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका साथ बजेट विनियोजन गर्नुपर्नेमा सरकारले त्यसो नगरेको सांसदहरूको भनाइ छ ।

मन्त्री ढुंगेलले कोभिड–१९ लाई प्राथमिकतामा राखेर पुरानै पूर्वाधारका योजनालाई अघि बढाउने बताएका छन् । स्वास्थ्यसँगै, शिक्षा, कृषि, रोजगारी सिर्जना गर्ने कार्यक्रम, सिँचाइलगायतका कार्यक्रमलाई प्रदेश सरकारले आगामी आर्थिक वर्षमा प्राथमिकताका साथ बजेट विनियोजन गर्ने जनाएका थिए । उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कोभिड–१९ नियन्त्रणमा केन्द्रित हुने बताए । उत्पादन वृद्धि हुने र तत्काल रोजगार सिर्जना गर्ने क्षेत्रमा बजेट विनियोजन गरिने ढुंगेलले प्रदेशसभामा जानकारी दिए ।

मन्त्री ढुंगेलले प्रदेशभरका जिल्लास्थित अस्पतालको स्तरोन्नती, स्वास्थ्यकर्मीसँगै र आवश्यक पूर्वाधारको विकासलाई प्राथमिकता दिने जानकारी गराए । उनले राजस्व वृद्धिका लागि सम्भावित स्रोतको खोजी गर्ने योजना अघि सारे । जग्गा प्राप्ति, डीपीआर र वातावरणीय प्रभाव मूल्यांकन भइसकेको योजनालाई मात्र बजेट विनियोज गर्ने कार्यको थालनी गरिने उनको भनाइ छ । कोभिड–१९ बाट प्रभावित भएका न्यून आय भएकाहरूलाई सुलभ ब्याजदरमा ऋणको व्यवस्था गर्ने पनि जनाए ।

प्रमुख प्रतिपक्ष माओवादी केन्द्रका सांसद युवराज दुलालले सुरुङमार्गको योजनाभन्दा पनि प्रदेशवासीको स्वास्थ्य सुरक्षा महत्वपूर्ण भएको बताए । प्रदेशका पूर्वमन्त्रीसमेत रहेका दुलालले कोभिड महामारीले जीवन रक्षा गर्नु सरकारको दायित्व भएकाले हाल सुरुङमार्ग, पूर्वाधारभन्दा पनि स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथिमकतामा राखेर अघि बढ्नु पर्ने बताए । उनले तत्कालको आवश्यकतालाई मध्यनजर नगरी बजेटको प्राथमिकतामा अन्तै बनाइएको आरोप लगाए ।

चालु आर्थिक वर्ष २०७७-०७८ मा भौतिक पूर्वाधारतर्फ ३४ प्रतिशत र शिक्षा तथा स्वास्थयमा मुस्किलले १३ प्रतिशत बजेट विनियोजन भएकोमा भनाइ अनुसार काम हुन नसकेको सांसद दुलालले बताए । सत्तारुढ नेकपा एमालेकी सांसद रचना खड्काले सरकारले बजेट प्राथमिकतामा स्वास्थ्य क्षेत्रलाई समेट्नु पर्ने बताइन् ।

विवेकशील साझाका सांसद रमेश पौड्यालले अक्सिजनको अभावमा जनताको ज्यान गइरहेको अवस्थामा प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा ठोस योजना नल्याएको बताए । ‘जनता अक्सिजनको अभावमा भकाभक मरिरहेका छन् । तर, प्रदेश सरकारले जनता बचाउने योजना ल्याउन सकेन,’ पौडेलले भने ।

कोभिडको महामारीको समयमा सरकारले ठोस योजनासहित प्रदेशसभामा प्रस्तुत नभएको आरोप नेपाली कांग्रेस सांसद निमा लामाले लगाए । कोभिड महामारीमा प्रदेश सरकार जिम्मेवार ढंगबाट प्रस्तुत नभएको भन्दै लामाले तत्कालको आवश्यकता र लक्ष्यबिना सिद्धान्त र प्राथमिकता सदनमा प्रस्तुत भएको बताए ।

आगामी आर्थिक वर्ष २०७८-०७९ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सकिएसँगै अर्को सूचना नआएसम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै